संस्थाको आयोजनामा बाख्रा साटासाट कार्यक्रम सम्पन्न ।

रयाले, पनौती १, काभ्रे ।
यस जनमैत्री बचत तथा ऋण सहकारी संस्था आर्थिक बिकास उपसमितिले सामुदाय स्तरमा आर्थिक उन्नतीलाई बिशेष जोड दिई जनमैत्री महिला समुहका महिलाहरुका लागि बाख्रा साटासाट कार्यक्रमको आयोजना गरेको छ ।

साविक संस्था श्री पञ्चकन्या बहुउदेश्यीय सहकारी संस्थाले थालनी गरेको यस कार्यक्रम संस्था एकिकरण पश्चात पनि निरन्तर सञ्चालन भईरहेको छ । यस कार्यक्रममा जम्मा ६५ जना महिलाहरुको सहभागी रहेको थियो । कार्यक्रममा ६५ जना महिलाहरु मध्ये ६४ जनाले उन्नत जातका पाठीहरु र १ जनाले बोयर जातको बोका प्राप्त गरेका थिए ।

सहभागी महिलाहरुले २ बर्ष अर्थात २४ महिनामा सोहि बरावरको अर्को पाठी फिर्ता गर्नुपर्ने हुन्छ र सोहि पाठी फेरि अर्को सदस्यहरुलाई बितरण गरिन्छ । उत्कृष्ठ पाठी फिर्ता गर्नुहुने सदस्यलाई नगद पुरस्कारको ब्यवस्था रहेको छ ।


श्री रयाले पशुधन सुरक्षण(बीमा) समिति र श्री जनईच्छा कृषि सहकारी संस्थाको सहकार्यमा सम्पन्न यस कार्यक्रम अन्तर्गत पाठीको बिमा गरि पाठी प्राप्त गरेको ६ महिना भित्र पाठी मरेमा बिमा रकमको ६० प्रतिशत रकम उपलब्ध गराईनेछ । भने कुनै समस्या देखा परेमा संस्थामा जानकारी दिई पाठी परिवर्तन समेत गर्न पाईनेछ ।


संस्थाले सदस्यहरुको आर्थिक उन्नतीको लागि कुनै कसरत पनि बाँकी नराख्ने बताउनुहुँदै संस्थाका अध्यक्ष राजकुमार सापकोटाले सामुदाय स्तरमा आर्थिक स्तर उन्नतीका योजना सहितको प्रस्तावना पेश गर्न उपसमितिका पदाधिकारी ज्यूहरुलाई अनुरोध गर्नुभयो । बचत तथा ऋण सहकारी भएता पनि संस्थाले बचत तथा ऋणको कारोवारका आलवा अन्य सामाजिक कार्यहरुमा पनि सहकार्य गर्ने योजना बनाएको र सदस्यहरुलाई आवश्यक अभिमुखिकरण तथा तालिमको आवश्यकता परेमा निर्धक्कका साथ संस्थामा माग गर्नुहुन पनि अनुरोध गर्नुभयो ।


समृद्धिका लागि सहकारी मूल नारा लिई सञ्चालनमा रहेको यस संस्थाले सदस्यहरु समृद्ध हुने कार्य गर्नको लागि नै संस्था एकिकरण गर्नुपरेको बताउनुहुँदै संस्थाका बरिष्ठ ब्यवस्थापक वेद प्रसाद सापकोटाले देशमा हालको आर्थिक संकटको अवस्थामा समेत सदस्यहरुलाई कारोवारमा कुनै समस्या नभएकोले सदस्यहरुको आवश्यकता पुरा गर्न संस्था सफल रहेको र संस्था अझ सबल र सक्षम भएको बताउनु भयो ।