संस्थाको समन्वयमा नगरपालिकाद्वारा मासुका लागी पाडा वितरण

समृद्धिका लागि सहकारी उदेश्य लिइ संचालनमा रहेको यस जनमैत्री साकोसको समन्वय र पनौती नगरपालिकाको आयोजनामा पनौती नगरपालिका वडा नम्बर १ मा यस जनमैत्री बचत तथा ऋण सहकारी सस्था लि बाट संचालित जनमैत्री महिला समुहका सदस्यहरु मध्ये ४८ महिलाहरुलाइ सशर्ततर्फ मासु मिशन अन्तर्गत पाडा वितरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।

बचत तथा ऋणको उदेश्य मात्रै नभई संस्थाले शेयर सदस्यहरुको आयस्तर वृद्धि तथा जिबन स्तरमा सकारात्मक परिवर्तन हुने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको छ ।

जस अनुसार आज नगरपालिकाको सहयोगमा पाडा वितरण कार्यको सुरु गरेको छ। कार्यक्रममा सहभागी ४८ महिलाहरु मध्ये आज पहिलो चरणमा १७ जना किसान महिलाहरुलाई लागत साझेदारीमा पाडा वितरण गरिएको हो।

सशर्त तर्फ मासु मिसन अन्तरगत पाडा प्रबर्द्धन तथा पाडा वितरण कार्यक्रमको शुभारम्भ गर्दै पनौती नगरपालिकाका उप–प्रमुख गिता बञ्जाराले किसानको जीवनस्तर उकास्न यो कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। नगरपालिकाको कार्यक्रमलाई सफल बनाउन सहकारी संस्थाको ठुलो योगदान रहेको बताउनुहुदै आगामी दिनहरुमा पनि संस्थाको यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो।

नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको बताउनुभयो। लागत साझेदारीमा जम्मा लागतको किसानले ४० प्रतिशत व्यहोर्नु पर्नेछ भने अन्य ६० प्रतिशत नगरपालिकाले व्यहोर्नेछ। एउटा पाडालाई किसानले ९ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ। भने अन्य खर्च सहित १ वर्षको बिमा, औषधि र अन्य आपतकालीन उपचार नगरपालिकाले बहन गर्ने प्रमुख सापकोटाले बताउनुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार, पनौती नगरपालिकाका कृषि संयोजक तथा वडा नम्बर १ का अध्यक्ष गुणनाथ सापकोटाले आर्थिक उन्नतीका लागि कृषि क्षेत्रको विकास जरुरी रहेको बताउदै साझेदारीमा वितरण गरिएको पाडालाई पूर्ण रुपमा आफ्नो सम्झेर पालन गरेमा मात्र यसले आर्थिक उन्नतिको प्रतिफल दिने बताउनुभयो।

पाडा २ सय केजीको भएपछि वडा कार्यालयको समन्वयमा पाडा विक्रि वितरण गर्न पाइने कृषि तथा पशुपन्छी शाखा पनौतीका पशु सेवा प्राविधिक अधिकृत लिलानाथ सापकोटाले बताउनुभयो।

कार्यक्रममा बोल्दै यस जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक बेदप्रसाद सापकोटाले नगरपालिकासँग समन्वय गरेर कृषि क्षेत्रमा काम गर्न पाएकोमा खुसी लागेको बताउनुभयो।

कार्यक्रम संस्थाका सञ्चालक समिति सचिब श्यामहरि सापकोटाले सञ्चालन गर्नुभयो ।